रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवका जेठा ज्वाइँ दीपक यादव नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रौतहटको गरुडा नगरपालिका–निवासी ३६ वर्षीय यादवले चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थल पुगेर पार्टी सदस्यता लिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू रास्वपामा औपचारिक रूपमा प्रवेश गरेको जानकारी पनि सार्वजनिक गरेका छन् ।
दीपक यादवले लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध रहँदै आए पनि पार्टीभित्रको आन्तरिक गुटबन्दी, नेतृत्व तहबाट अपेक्षित अवसर नपाएको अनुभूति तथा राजनीतिक रूपमा अघि बढ्न अनुकूल वातावरण नबनेको कारण देखाउँदै कांग्रेस छाड्ने निर्णय गरेको बताएका छन् ।
उनको परिवार कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएको छ । उनका हजुरबुबा हृदयनारायण यादवले रौतहट क्षेत्र नम्बर ३ बाट पटक–पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै उनका बुवा रामनारायण यादवले २०७४ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए, तर उनी दुवै पटक निर्वाचित हुन सकेका थिएनन् ।
दीपक यादव स्वयं पनि राजनीतिक रूपमा सक्रिय रहँदै आएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गरुडा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
मुख्यमन्त्री परिवारसँग प्रत्यक्ष नाता जोडिएका एक युवा राजनीतिक व्यक्तित्वको रास्वपामा प्रवेशलाई मधेशको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । विश्लेषकहरूका अनुसार यो घटनाले रौतहटसहित मधेश प्रदेशको स्थानीय राजनीतिक समीकरणमा केही प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।