नेपाल पत्रकार महासंघले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई जेल पठाउने सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिमा महासंघले सिधाकुरासम्बन्धी अदालतको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रकारले स्रोतबाट प्राप्त सामग्री परीक्षण गर्ने प्रयोगशालाको व्यवस्था नभएको र कानुनले समेत यस्तो व्यवस्था नगरेको उल्लेख गर्दै, प्रकाशित समाचार सामग्री गलत भए सच्याउने प्रक्रिया हुँदाहुँदै सर्वोच्चको जेल पठाउने निर्णय आपत्तिजनक भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, "स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्चाउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ।" महासंघले सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति असन्तुष्टि भएमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता व्यक्त गरेको छ ।
महासंघले सञ्चारमाध्यमले प्रकाशित सामग्री हटाइसकेको अवस्थामा पनि सर्वोच्च अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउने फैसलाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, "महासंघ कुनै पनि फैसला वा निर्णयले सञ्चार क्षेत्र नियन्त्रणका लागि दीर्घकालीन नजिर नबसोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।"
महासंघले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार, न्यायालय, र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरेको छ ।