बारा जिल्लाको छातापिपरास्थित नारायणी इस्पात प्रालिका मजदूरहरू श्रम ऐनको पूर्ण कार्यान्वयन तथा निष्कासित दुई श्रमिकको पुनर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
मजदूरहरूले बुधबार उद्योगको मूल गेट नजिक शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेका हुन् । केएल समूह अन्तर्गत सञ्चालित उक्त उद्योगमा कार्यरत दैनिक ज्यालादारीका दर्जनौं श्रमिकहरूले माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदूर सङ्घको एकाइ गठन गरी ट्रेड युनियन दर्ताका लागि श्रम तथा रोजगार कार्यालय, वीरगञ्जमा निवेदनसमेत दिएका छन् ।
एकाइ अध्यक्ष कृष्ण यादवका अनुसार उद्योगमा करिब ४ सय मजदूर कार्यरत भए पनि श्रमिकहरूको हकहित सुनिश्चित हुन नसकेको, व्यवस्थापन पक्षबाट दमन तथा शोषण बढ्दै गएको र श्रम ऐनअनुसारका सुविधा नपाएको गुनासो छ ।
उनले श्रमिकका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन धर्ना कार्यक्रम सञ्चालन गरिएको बताए । साथै, धर्ना कार्यक्रमबारे श्रम कार्यालय वीरगञ्ज र जिल्ला प्रशासन कार्यालय बारालाई जानकारी गराइसकिएको पनि उनले जनाए । मजदूरहरूको आरोपअनुसार धर्नास्थल उद्योगको मूल गेटभन्दा पर राखिएको भए पनि उद्योग व्यवस्थापन र स्थानीय प्रहरीले सहयोग नगरी टेन्ट तथा त्रिपाल हटाउन दबाब दिएको छ।
यता उद्योगका प्रशासन प्रतिनिधि अनिल गुप्ताले श्रमिकहरूले आफ्ना मागसम्बन्धी विषय श्रम कार्यालयमा पुर्याइसकेको अवस्थामा धर्ना दिनुको औचित्य नरहेको प्रतिक्रिया दिए । उनका अनुसार उद्योग प्रशासनले श्रम ऐनविपरीत गतिविधि गरेको आरोपमा सुरेशप्रसाद कानु र सन्तोष रामलाई एक साताअघि कामबाट हटाएको थियो । सोही विषयलाई लिएर अन्य मजदूरहरूले अनावश्यक विवाद सिर्जना गरिरहेको उनको दाबी छ ।
मजदूरहरूले उद्योग प्रशासनमाथि सुरक्षा सामग्री जस्तै जुत्ता, पञ्जा, हेल्मेट र ज्याकेट उपलब्ध नगराएको तथा श्रम ऐनले तोकेकोभन्दा कम पारिश्रमिक दिएको आरोपसमेत लगाएका छन् ।
फलामका डन्डी, जस्तापाता तथा एङ्गल च्यानल उत्पादन गर्ने उक्त उद्योगमा देखिएको श्रमिक–व्यवस्थापन विवाद समाधानका लागि सम्बन्धित निकायको प्रभावकारी पहल आवश्यक देखिएको छ ।