वीरगंजस्थित नारायणी अस्पतालको ल्याब, डायलासिस, एक्सरे, फार्मेसी लगायतका अत्यावश्यक सेवाहरू ठप्प भएका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले स्टोर शाखाबाट माग गरिएका विविध सामग्रीहरूको माग फारममा हस्ताक्षर नगरेका कारण अस्पतालको सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । नव नियुक्त मेसु हाजिर नभएकाले तत्कालीन मेसु डा. एनामुल हकले अस्पतालाइ अस्तव्यस्त बनाएर राजधानी गएका छन् ।
मेसुकाे लापरवाहीले अस्पतालको प्रसूति गृह अन्तर्गतका रगत, पिसाब लगायत चेकजाँच गर्ने कतिपय सेवाहरू ठप्प भएका छन् । ल्याबका लागि आवश्यक सामान्य केमिकलदेखि एक्सरेका फिल्मसम्मका सामग्रीहरू मगाउन मेडिकल सुपरिटेन्डेन्टको हस्ताक्षर र अनुमति आवश्यक पर्ने भएकाले, मेसुको अनुपस्थितिमा सेवा अवरुद्ध भएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले मेडिकल सुपरिटेन्डेन्ट डा. हकको अनुपस्थितिका कारण सामग्री मगाउन नसक्दा सेवाहरू अवरुद्ध भएको बताए । उनले डा. हक राजधानी काठमाडौँमा रहेकाले उहाँको अनुपस्थिति नभइन्जेल अस्पतालको सेवा सञ्चालनमा समस्या हुने जानकारी दिए । विगत केही दिनदेखि अस्पतालले सेवाग्राहीहरूलाई सेवा प्रदान गर्न सकिरहेको छैन ।
नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी लगायतका जिल्लाहरू तथा भारतको बिहार राज्यका विभिन्न स्थानका बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको छ । अस्पतालका सेवा ठप्प हुँदा यस क्षेत्रका बिरामीहरू प्रभावित भएका छन् । महङ्गाे शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएका छन् ।
अस्पतालमा कर्मचारीहरू बीचको समन्वयको अभाव, हस्ताक्षर गरेर डिउटी नगर्ने तथा गुटबन्दीका कारण सेवामा असर परेको भन्दै पटक पटक आलोचना भइरहेको छ । नारायणी अस्पतालको व्यवस्थापन र सेवाप्रवाहमा सुधारभन्दा राजनीतिकरणले अस्पताल अस्तव्यस्त बनेको स्थानीयहरू बताउँछन् ।
सम्बन्धीत समाचार