मधेश प्रदेशमा आँपखेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहे पनि यस वर्ष उत्पादन भने उल्लेख्य रूपमा घटेको छ ।
कृषि विज्ञहरूका अनुसार प्रतिकूल मौसम र रोग–कीराको प्रकोपका कारण उत्पादनमा कमी आएको हो । कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । यस क्षेत्रफलबाट प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्वका आधारमा कुल २ लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा आँपखेती हुँदा प्रतिहेक्टर ११.४३ मेट्रिक टन उत्पादकत्वका दरले ३ लाख ४१ हजार ४४५ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल २ हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको तथ्यांकले देखाएको छ ।
कृषि विज्ञ दिनेश यादवका अनुसार फूल लाग्ने र फल विकास हुने समयमा आएको हावाहुरी तथा रोग–कीराको प्रकोप उत्पादन घट्नुको मुख्य कारण हो । उनका अनुसार किसानले उन्नत बिरुवा, बगैँचा व्यवस्थापन र सिँचाइमा सुधार गरे पनि जलवायुजन्य जोखिमका कारण अपेक्षित उत्पादन लिन सकिएको छैन । निर्देशनालयका अनुसार यस वर्ष बारामा प्रतिहेक्टर १३.८० मेट्रिक टनसहित सबैभन्दा बढी उत्पादकत्व रहेको छ भने सर्लाहीमा प्रतिहेक्टर ६.२० मेट्रिक टनसहित सबैभन्दा कम उत्पादन भएको छ ।
उत्पादनका हिसाबले सप्तरी अग्रस्थानमा रहेको छ। सप्तरीमा ८ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन आँप उत्पादन भएको छ । त्यसपछि सिरहामा ७२ हजार ४०० मेट्रिक टन, रौतहटमा ५४ हजार ३७८ मेट्रिक टन, महोत्तरीमा २९ हजार ७०० मेट्रिक टन, धनुषामा २३ हजार २७५ मेट्रिक टन, बारामा २० हजार ६३१ मेट्रिक टन, सर्लाहीमा १३ हजार २० मेट्रिक टन तथा पर्सामा ५ हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको छ ।
मधेश प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया, आम्रपालीलगायत व्यावसायिक जातका आँप उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित आँप स्थानीय बजारसँगै काठमाडौं उपत्यका तथा देशका अन्य प्रमुख बजारमा आपूर्ति हुने गरेको छ ।
कृषि विकास निर्देशनालयले उत्पादनमा यस वर्ष गिरावट आए पनि आँपखेतीको व्यवसायीकरण, आधुनिक बगैँचा व्यवस्थापन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । कृषि विज्ञहरूले जलवायुजन्य जोखिम न्यूनीकरण, रोग–कीरा व्यवस्थापन, बाली बीमा तथा आधुनिक प्रविधिमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् ।