थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पुनम चौधरीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी र पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी चयन भएका छन् । त्यसैगरी सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन् ।
अधिवेशनको अध्यक्षता शम्भु महतो थारुले गरेका थिए भने प्रमुख अतिथिका रूपमा शान्तकुमार चौधरी सहभागी थिए । कार्यक्रममा विशिष्ट अतिथि सन्तोष दहित रहेका थिए । त्यसैगरी दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरीलगायत विभिन्न सञ्चारकर्मी, समाजसेवी तथा संघका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले थारु समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण, पत्रकारितामा थारु समुदायको सहभागिता विस्तार तथा समुदायका मुद्दालाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत उठाउन संघले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष पुनम चौधरीले आफूलाई दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै संघलाई अझ सशक्त, सक्रिय र प्रभावकारी संगठनका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पत्रकारहरूको पेशागत क्षमता विकास, एकता र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताइन् ।
नयाँ कार्यसमितिले थारु पत्रकारहरूको हकहित संरक्षण, पेशागत विकास तथा संगठनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।