गृहमन्त्री सुधन गुरुङले तराई–मधेशका सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष रूपमा छलफल गरेका छन् ।
मन्त्री गुरुङ औपचारिक लावालस्कर बिना सर्वसाधारणकै भेषमा सीमा क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा उनले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँग दैनिक रूपमा भोग्नुपरेका समस्या, सुरक्षा अवस्था तथा आवतजावतका विषयमा छलफल गरेका थिए ।
स्थानीय बासिन्दाले सीमा नाकामा सुरक्षाकर्मीबाट अनावश्यक दुःख पाउने गरेको गुनासो गरेका थिए । उनीहरूले सीमा क्षेत्रमा जडान गरिएका सिसी क्यामरा हुँदाहुँदै पनि सशस्त्र प्रहरीका डीएसपीदेखि नेपाल प्रहरीका केही कर्मचारीसम्मले रकम लिएर तस्करी गराउने गरेको आरोपसमेत लगाएका थिए ।
स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले आफू वास्तविक अवस्था बुझ्न स्थलगत रूपमा आएको बताउँदै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण हुनुपर्ने र सर्वसाधारणले सहज तथा सुरक्षित रूपमा आवतजावत गर्न पाउनुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताए ।
सर्वसाधारणकै रूपमा सीमा क्षेत्रमा पुगेर आफ्ना समस्या प्रत्यक्ष सुनेको भन्दै स्थानीयले गृहमन्त्री गुरुङप्रति धन्यवादसमेत व्यक्त गरेका थिए ।