सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्कासहितको संयुक्त टोलीले आइतबार जिल्लाका विभिन्न सीमावर्ती प्रहरी चौकी र सीमा सुरक्षा बल (बीओपी)को स्थलगत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा टोलीले नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण गर्नुका साथै सीमावर्ती क्षेत्रको शान्ति–सुरक्षा अवस्था, प्रहरी परिचालन र सुरक्षा व्यवस्थाको स्थलगत मूल्याङ्कन गरेको थियो । प्रमुख जिल्ला अधिकारी थापाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी, चुस्त र दुरुस्त बनाउन सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिनुभयो । उहाँले सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकको सुरक्षामा कुनै कमजोरी हुन नदिन सुरक्षा निकायबीच समन्वय र सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी उपरीक्षक रूपक खड्काले सीमावर्ती प्रहरी युनिटहरूलाई नियमित गस्ती सञ्चालन, सूचनाको प्रभावकारी सङ्कलन तथा सम्भावित सुरक्षा चुनौतीको समयमै सामना गर्न उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी थापाले सीमा स्तम्भहरूको नियमित निरीक्षण तथा सीमावर्ती क्षेत्रको अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै यस्ता गतिविधिले सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।