बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा विमानस्थल नजिक डुमरवाना–सिमरा भित्री सडकखण्डमा साँझ स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा पर्साको वीरगंज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सराफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्कुटर चालक सराफको टाउको, छाती तथा मुखमा गम्भीर चोट लागेको थियो । सिमरास्थित सिटी स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोमबार राति उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलले जानकारी दिनुभयो।
प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ जाँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। त्यसपछि तीनवटै सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार वीरगंज महानगरपालिका–२, छपकैया निवासी १७ वर्षीय दिलसाद देवान सामान्य घाइते हुनुभएको छ । उहाँको नगर अस्पताल, सिमरामा उपचारपछि डिस्चार्ज गरिएको र हाल प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ ।
यस्तै, मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा चोट लागेको छ । प्रारम्भिक उपचारपछि उहाँलाई थप उपचारका लागि वीरगंजस्थित हेल्थ केयर अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्र्याक्टर चालक जितपुरसिमरा उपमहानगरपालिका–४, औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।