धान रोपाइँ र गोडमेलको मुख्य समयमा किसानलाई राहत दिने उद्देश्यले कृषि, वन तथा वातावरण मन्त्रालयले साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।
मन्त्रालयका अनुसार धान खेतीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्न भारत सरकारसँगको सरकार–सरकार (जीटुजी) सम्झौता तथा अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत आयात प्रक्रिया तीव्र पारिएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धतामा असर परे पनि नेपालमा अभाव हुन नदिन आवश्यक पहल गरिएको मन्त्रालयले जनाएको छ ।
जीटुजी सम्झौताअन्तर्गत भारतबाट ८० हजार मेट्रिक टन मल आयात गर्ने सहमति भएको छ । पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो सातासम्म नेपाल भित्रिनेछ । साथै, थप ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ ।
यस्तै, ग्लोबल टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात भइरहेको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यो मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विभिन्न देशबाट मल ढुवानी तथा सिपमेन्टको काम तीव्र बनाएका छन् ।
ओमनबाट ३० हजार मेट्रिक टन युरिया असार अन्तिमसम्म कोलकाता पुग्ने र साउन दोस्रो सातासम्म नेपाल ल्याइनेछ । कतारबाट ३० हजार मेट्रिक टन युरिया सिपमेन्ट भइसकेको छ भने साउदी अरेबियाबाट थप ३० हजार मेट्रिक टन युरिया असार अन्तिम सातासम्म कोलकाता आइपुग्ने जनाइएको छ । त्यस्तै, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल असार अन्तिम सातासम्म कोलकाता पुग्ने र साउन दोस्रो सातासम्म नेपाल भित्रिनेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार ३० हजार मेट्रिक टन डीएपी विशाखापट्टनम बन्दरगाहमा पुगिसकेको छ र असार १९–२० गतेभित्र नेपाल आइपुग्नेछ । साथै, ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ, जुन साउन पहिलो साता कोलकाता हुँदै साउन अन्तिमसम्म नेपाल ल्याइनेछ । मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चुनौती रहे पनि यस वर्ष मलको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । चालु आर्थिक वर्षमा कुल ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
साउनभित्रै पर्याप्त मल भित्रिने भएकाले यस वर्ष धान उत्पादन बढ्ने र किसानले विगतका वर्षझैँ मल अभावको समस्या भोग्न नपर्ने विश्वास मन्त्रालयको छ ।