रौतहटमा पुरानो जग्गा विवाद उग्रिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् भने प्रहरीले घटनामा संलग्न बाबुछोरालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार मंगलबार राति करिब ८:१५ बजे स्थानीय रामबहादुर साह, उनका छोरीज्वाइँ बुटन साह, रामऔतार साह र उनका छोरा राममहेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हात हालाहालमा परिणत भएको प्रहरीले जनाएको छ।
विवादका क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा राति करिब ९:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनामा ८० वर्षीय रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था खतरा बाहिर रहेको छ।
घटनापछि प्रहरीले मुख्य आरोपित राममहेश्वर साह र उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुरानो जग्गा विवादकै कारण घटना भएको खुलेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।