काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलामा आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आइतबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो ।
विभागका अनुसार ती क्षेत्रका नदी तथा खोलाको तटीय क्षेत्र, डुबान हुन सक्ने स्थान तथा नदी आसपास बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्नेछ ।
यद्यपि, विभागले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर हाल जोखिमको तहभन्दा तल रहेको जनाएको छ ।
मौसम विभागले निरन्तर वर्षा भइरहेका क्षेत्रमा नदी–खोलाको बहाव एक्कासि बढ्न सक्ने भएकाले नदी तर्न, माछा मार्न तथा नदी किनारका गतिविधि गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।