नेपालको सुन बजारमा सुनको मूल्यले हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च थियो । बुधवार भने यो रेकर्ड तोडेर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो ।
मंगलबार मात्र सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ थियो, जसको तुलनामा बुधवार १,३०० रुपैयाँले बढेको देखिन्छ । छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ३८ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलवार प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधवार २५ रुपैयाँले बढेर १ हजार ९५० रुपैयाँ पुगेको छ । सुनचाँदीको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको अस्थिरता र डलरको बढ्दो भाउका कारण भएको बताइएको छ ।
यसले आगामी दिनमा पनि सुनचाँदीको मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ ।