‘क्रिश्चियन धर्मको प्रचारक’भएको आरोपमा हर्क साम्पाङलाई जानकी मन्दिरमा प्रवेश गर्न रोक लगाएकाे छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको दर्शन गर्न नदिएकाे हाे । हिन्दू सम्राट सेनाका कार्यकर्ताको विरोध र प्रदर्शनका कारण मन्दिर परिसरमा तनावको अवस्था सिर्जना भएपछि साम्पाङ दर्शन नगरी फर्किएका हुन् ।
साम्पाङ बिहान करिब ११ बजे समर्थकहरूसहित जानकी मन्दिर पुग्ने कार्यक्रम थियो । तर, उनी मन्दिर प्रवेश गर्नुअघि नै हिन्दू सम्राट सेनाका कार्यकर्ता र साम्पाङका समर्थकबीच धकेलाधकेल सुरु भएको थियो । साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै हिन्दू सम्राट सेनाले यसअघि नै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडप र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिइएको हो । प्रहरीले अवस्था नियन्त्रणमा लिन दुवै पक्षलाई संयमित बनाएको जनाएको छ ।
घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जनकपुरधाममा तनावको अवस्था सिर्जना हुँदा पनि गृहमन्त्रीको फोन ‘अफ’ रहेको भन्दै आलोचना गरेका छन् ।