नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ सालदेखि २०८२ सालसम्मको एक दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला दिन’ भएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा कांग्रेस महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक ‘बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो दशकको राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले उक्त अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए। राजनीतिक दलका नेताहरूले सत्ता प्राप्तिका लागि नागरिकका समस्या र राष्ट्रिय मुद्दालाई प्राथमिकतामा नराखेको आरोप उनले लगाए ।
“२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अँध्यारा वर्षहरू भए । ती काला दिनहरू भए। जसमा केवल सत्ता, सत्ता, सत्ता र शक्ति, शक्ति, शक्तिको राजनीति भयो। त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो,” थापाले भने ।
उनले आफू पार्टीको सिद्धान्त र मूल्य–मान्यताप्रति अडिग रहेकै कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेको दाबी गरे । थापाले पछिल्लो दशकको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक धारणा निर्माण गर्न नसकेको पनि बताए । सिद्धान्तका लागि संघर्ष गर्नुपर्ने भन्दै उनले आफू त्यही मान्यताबाट राजनीतिमा आएको उल्लेख गरे ।
“सिद्धान्तका लागि सास्ती खानुपर्छ, असिद्धान्तका लागि आठ वर्ष जेल बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हुँ,” उनले भने । उनले कांग्रेससहित सबै राजनीतिक दलले विगतका कमजोरीको समीक्षा गर्दै नयाँ पुस्तालाई विश्वास दिलाउने गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।