दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र प्रतिनिधिसभाका उपसभामुख रुबी कुमारीबीच छलफल भएको छ ।
मन्त्रालयमा भएको भेटवार्तामा दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट सुरु गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको हो ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह र नागरिक समाजको सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
छलफलका क्रममा दाइजो प्रथा महिला हिंसा, लैङ्गिक विभेद र सामाजिक अन्यायको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनी कार्यान्वयन, प्रभावकारी अनुगमन र सामाजिक सचेतना अभियानलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
मन्त्री बादीले दाइजो प्रथा केवल कानुनी समस्या नभई सामाजिक चुनौतीसमेत भएकाले यसको अन्त्यका लागि राज्यका निकाय, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम, नागरिक समाज र समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।
भेटका क्रममा दाइजो प्रथा अन्त्यका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने, जनचेतनामूलक अभियानलाई संस्थागत रूपमा अघि बढाउने तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा समेत प्रतिबद्धता व्यक्त गरिएको छ ।