जनकपुरधाम । जनकपुरधामस्थित मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन् ।
बिहीबार बिहान उद्योगभित्र रहेको कोठामा कामदारहरूले खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।
आगलागीमा बाराको प्रसौनी गाउँपालिका–४, खुट्वा प्रसौनी निवासी २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सार तथा २५ वर्षीय धर्मराज महतो घाइते भएका छन् । आगलागीका कारण उनीहरूको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनालाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरी निरीक्षक केसीले बताए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।