महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक ८ वर्षीय बालकको मृत्यु भएको छ । उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले अस्पतालबाट शवसमेत बुझ्न नसकेको जनाएको छ ।
स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरलाई बुधबार साँझ घरनजिकै रहेको आँपको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पदंशपछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बर्दिबास नगरपालिका–१२ की वडा सदस्य रुपोदेवी सदाका अनुसार सर्पदंशपछि बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। बालककी आमा अमृतदेवी कापरले घरमै आँप टिप्ने क्रममा सर्पले टोकेपछि तत्काल अस्पताल पुर्याइए पनि छोराको ज्यान बचाउन नसकिएको बताइन् ।
परिवारका अनुसार उपचारका क्रममा करिब ७० हजार रुपैयाँ खर्च भएको छ। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उक्त रकम तिर्न नसक्दा परिवारले मृतक बालकको शवसमेत अस्पतालबाट बुझ्न नसकेको जनाएको छ ।
बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिइएको जानकारी दिँदै अस्पताल बिरामी र उनका परिवारको अवस्थाप्रति संवेदनशील रहेको बताए ।
घटनापछि मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलगायतको टोली अस्पताल पुगेको थियो ।
स्थानीयवासीले विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उपचार खर्च व्यवस्थापनमा सहयोग गर्न तथा आर्थिक अभावका कारण पीडित परिवारले थप सास्ती भोग्न नपर्ने व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन् ।
घटनापछि अस्पताल पुगेका युवा नेता पिताम्बर महतोले गरिबीका कारण उपचार खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोक्नुपर्ने अवस्था अत्यन्त दुःखद भएको टिप्पणी गरे । उनले यस्ता घटनामा विपन्न परिवारलाई तत्काल राहत तथा उपचार सहायता उपलब्ध गराउने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गरे ।