जनकपुरधाम । धनुषामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक हजार १८७ वटा गुनासो मेलमिलाप प्रक्रियामार्फत फर्छ्यौट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार हालसम्म दर्ता भएका कुल पाँच हजार २५७ उजुरीमध्ये १,१८७ वटा उजुरी छलफल तथा मेलमिलाप प्रक्रियाबाट टुङ्ग्याइएको हो ।
उनका अनुसार मेलमिलाप हुन नसकेका ९३ वटा मुद्दा कानुनी कारबाहीका लागि अदालतमा दर्ता गरिएको छ ।
छानबिन तथा मेलमिलाप प्रक्रियापछि पीडितहरूले ३० करोड ८२ लाख ३७ हजार ९२ रुपैयाँ तथा २७ बिघा ८ कठ्ठा १८ धुर जग्गा फिर्ता पाएका छन् ।
अनुसन्धानका क्रममा थोरै रकम ऋण दिएर धेरै रकमको कपाली तमसुक गराउने, दोब्बर–तेब्बरसम्मको रकम उल्लेख गरी चेक धितो राख्ने जस्ता प्रवृत्ति व्यापक रूपमा रहेको पाइएको प्रहरीको भनाइ छ ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनशक्तिको अभावका कारण पहिले दर्ता भएका उजुरीको टुङ्गो लाग्न नसकेको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका केही उजुरीमा यही कारणले कारबाही प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले जनशक्ति व्यवस्थापनसँगै बाँकी उजुरीको छानबिन र फर्छ्यौट प्रक्रियालाई तीव्रता दिइने बताएका छन् ।