एक समय १८ घण्टासम्म लोडसेडिङको मार खेपेको नेपालले पछिल्लो समय विद्युत् निर्यातबाट ठूलो आम्दानी गर्न थालेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् व्यापारबाट करिब १९ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । सोही अवधिमा १० अर्ब २२ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो ।
विद्युत् आयातमा भएको खर्च घटाउँदा नेपालले विद्युत् व्यापारबाट १९ अर्ब ९ करोड ७३ लाख रुपैयाँ खुद आम्दानी गरेको प्राधिकरणले जनाएको छ । असार मसान्तसम्म नेपालले भारत र बंगलादेशमा गरी ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ । यसबाट २९ अर्ब ३२ करोड ४७ लाख ४३ हजार रुपैयाँ आम्दानी भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विद्युत् निर्यातबाट नेपालले १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस आधारमा गत वर्ष विद्युत् निर्यातबाट भएको आम्दानी ६७.९७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात विस्तार गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार अघि बढाइएको बताएका छन् ।
मन्त्री श्रेष्ठले काम नगर्ने जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउनुका साथै समस्यामा रहेका आयोजनालाई निर्माण सम्पन्न गर्न समय र अवसर दिने नीति लिएका छन् ।
ऊर्जा मन्त्रालयले चालु आर्थिक वर्षमा विद्युत् उत्पादन, खपत र निर्यात अझै वृद्धि गर्ने गरी काम भइरहेको जनाएको छ ।