राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण सुरु भएको दुई दशकको अवधिमा बाँकेको २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यका अनुसार आयोजना सुरु भएयता हालसम्म २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । सो लगानीबाट जिल्लाको २५ हजार हेक्टर क्षेत्रफलमा प्रत्यक्ष सिँचाइ सुविधा पुर्याइएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म लक्ष्यको आधाभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।
निर्देशक आचार्यले आयोजनाको भौतिक प्रगति हालसम्म करिब ५० प्रतिशत पुगेको जानकारी दिँदै लामो समयदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका किसानलाई सिँचाइ सुविधा उपलब्ध भएपछि कृषि उत्पादनमा सहजता आएको बताए ।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार २०६४ सालमा स्वीकृत पहिलो गुरुयोजनाअनुसार १२ अर्ब ८० करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर निर्माणका क्रममा पूर्वी मूल नहरलगायत थप संरचना निर्माण गर्ने निर्णय भएपछि लागत र समय दुवै बढ्दै गएको हो । आर्थिक वर्ष २०७१/७२ मा संशोधित गुरुयोजनाले २५ अर्ब २ करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर संशोधित लक्ष्यअनुसार पनि आयोजना सम्पन्न हुन सकेन । पछिल्लो पटक २०७९ मा स्वीकृत गुरुयोजनाअनुसार सिक्टा सिँचाइ आयोजना ५२ अर्ब ८९ करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०८९/९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको काममा भइरहेको ढिलाइप्रति जिल्लाका सरोकारवालाले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । नेपालगन्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले आयोजना छिटो सम्पन्न गरी बढीभन्दा बढी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताए । उनले ढिलाइका कारण किसानले वर्षमा तीन वटासम्म बाली लगाउने अवसर गुमाइरहेको उल्लेख गरे ।
सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले पनि आयोजना समयमै सम्पन्न गर्न सरकारलाई दबाब दिँदै आएको बताए । विगतमा राजनीतिक हस्तक्षेप, बजेट अभाव र व्यवस्थापन कमजोरीका कारण आयोजना ढिलाइ भएको उनको भनाइ छ ।