काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणका क्रममा बारा जिल्लामा काटिएका वन क्षेत्रको क्षतिपूर्ति स्वरूप रोपिएका ७ लाखभन्दा बढी बिरुवाको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी अब डिभिजन वन कार्यालय बाराले सम्हाल्ने भएको छ ।
नेपाली सेनाले पाँच वर्षसम्म संरक्षण र व्यवस्थापन गर्दै आएको वृक्षारोपण क्षेत्र बुधबार आयोजित एक कार्यक्रमबीच डिभिजन वन कार्यालय बारालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झा, नेपाली सेनाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणका क्रममा बारामा २८ हजार ६१९ वटा रुख कटान गरिएको थियो । त्यसबाट परेको वातावरणीय प्रभाव न्यूनीकरण गर्न कानुनी व्यवस्थाअनुसार नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा क्षतिपूर्ति स्वरूप ७ लाख ५ हजार ५५२ वटा बिरुवा रोपेको थियो ।
वृक्षारोपण गरिएका क्षेत्रको पाँच वर्षसम्म संरक्षण, गोडमेल, सिँचाइ, घेराबार तथा अन्य व्यवस्थापनको जिम्मेवारी सेनाले नै सम्हाल्दै आएको थियो । संरक्षण अवधि पूरा भएपछि ती क्षेत्रको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि डिभिजन वन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो । डिभिजन वन कार्यालय बाराले हस्तान्तरण गरिएका वृक्षारोपण क्षेत्रको नियमित अनुगमन, संरक्षण तथा आवश्यक व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ । बिरुवाको वृद्धि, वन क्षेत्रको संरक्षण र दीर्घकालीन दिगोपन सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रिय गौरवका पूर्वाधार आयोजनाले विकासमा योगदान पुर्याए पनि वातावरणीय प्रभाव न्यूनीकरणका लागि क्षतिपूर्ति वृक्षारोपण प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनीहरूले वृक्षारोपणले हरियाली विस्तार, जैविक विविधताको संरक्षण, माटो कटान नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्गसँग जोडिएको यो वृक्षारोपण कार्यक्रम विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्ने उदाहरणका रूपमा हेरिएको छ ।