गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा गृहमन्त्री गुरुङले आफूले विभिन्न स्थानको सीमा क्षेत्रमा पुगेर समस्याको पहिचान गरिसकेको भन्दै अब नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र बनाउने बताए ।
गृहमन्त्री आफैं जाँदा भीडभाड हुने र काम गर्न सहज नहुने भएकाले, अब सादा पोशाकका प्रतिनिधिहरू पठाएर सीमा नाकाहरूमा काम र निरीक्षण प्रभावकारी रूपमा भइरहेको छ/छैन भन्ने नियमित अनुगमन गरिने उनले बताए। मन्त्री गुरुङले सीमा क्षेत्रमा खटिएका प्रहरीहरू टहरा, जस्ता र भत्किन लागेका भवनमा बस्नुपर्ने, पानी चुहिने र रातभरि ड्युटी गर्नुपर्ने कठिन परिस्थिति रहेकाले उक्त समस्याहरुलाई समाधान गरिने बताए ।
खुला सीमाका कारण एकातर्फ अपराध गरेर अर्कोतर्फ भाग्ने, लागूऔषध ओसारपसार हुनेजस्ता चुनौतीहरू देखिएकाले यसमा विशेष निगरानी गरिने उनको भनाइ छ। उनले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनताको समस्यामाथि विगतमा राजनीतिकरण हुने गरेकाले आफूले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताए। मन्त्री गुरुङले सुस्ताबासीको नागरिकतासम्बन्धी समस्या समाधान भइरहेको बताए ।
बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले सीमा क्षेत्रमा भइरहेका कामकारबाही र समस्या तथा चुनौतीका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरूले सीमा नाकामा नेपाली नागरिकको भोग्नुपरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए ।
भिडियाे सामाग्री