गर्मी बढेसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सर्पदंश विरामीको चाप बढेको छ ।
गर्मीसँगै भएको बर्षाले सर्प जमिनबाट बाहिरिने गरेका हुँदा सर्पदंशको घट्नामा वृद्धि भएपछि अस्पातलमा विरामीको चाप बढेको हो । शुक्रबार एकै दिन जिल्लाको विभिन्न पालिकाका गरी एक बालकसहित ५ जना सर्पदंशबाट सिकिस्त भइ उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका छन् ।
भर्ना हुनेहरुमा तिलाठी कोइलाडी गाउँपालिका –८ का ९ बर्षीय बालक ध्रुवकुमार साह, राजविराज नगरपालिका –३ की ५५ बर्षीया हजरा खातुन, महदेवा गाउँपालिका ३ की २३ बर्षीया गुलाबदेवी यादव तथा विष्णुपुर गाउँपालिका –५ की ३२ बर्षीया शुशिलादेवी मण्डल रहेको अस्पतालका आकस्मिक कक्षका सिनियर अहेब सन्तोष दासले जानकारी दिनुभयो ।
उहाँहरुमध्ये मंडलको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यन्त्र रेफर गरिएको उहाँले बताउनुभयो । अत्यधिक गर्मी र बर्षाका कारण दुलो र झारपातबाट सर्प बहिर आउँदा घट्नामा वृद्धि भएको अहेब दासको तर्क छ ।
अस्पताल प्रशासनका अनुसार दैनिक ५ देखि ७ जनासम्म सर्पदंशबाट घाइते भइका विरामी उपचारका लागि आउने गरेको छ ।
सर्पदंशबाट सिकिस्त भएर आउने विरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा सोही अनुसारको एन्टीस्नेक भेनम औषधी पर्याप्त मात्रामा स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अत्यधिक गर्मी र बर्षाले मौसममा ल्याउने परिर्वतनका कारण डायरिया, ज्वरो लगायतको रोगबाट पीडित बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।