बाराको कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलमा नहरमा डुबेर ६ महिनाकी एक शिशुको मृत्यु भएको छ ।
स्थानीय मोबारक मियाकी ६ महिनाकी छोरी सनाया खातुन आज शुक्रबार साँझ करिब ६ बजे घरको आँगनमा खेल्ने क्रममा आँगनसँगै उत्तरबाट दक्षिणतर्फ बगेको नहरमा डुबेर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया ल्याइएको थियो ।अस्पतालमा चिकित्सकले साँझ करिब ६:३० बजे ECG जाँच गर्दा शिशुको मृत्यु भएको घोषणा गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक राकेश साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । शिशुको शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।