काठमाडौं । सरकारले चुच्चे नक्सासहित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार गरेको छ। नयाँ डिजाइनमा नेपालको चुच्चे नक्सासँगै आकाश भैरवको चित्र पनि समावेश गरिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त डिजाइन मन्त्रिपरिषद्बाट स्वीकृत भई अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंकमा पुगिसकेको छ । यसअघि राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्बिर समेटिएको डिजाइन स्वीकृतिका लागि पठाएको भए पनि मन्त्रिपरिषद्ले त्यसलाई फिर्ता गर्दै परिमार्जनसहित नयाँ प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दा वा परिवर्तन गर्दा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्कामा नेपालको नक्सा हटाइने विषयमा कुनै जानकारी नभएको बताए । उनका अनुसार नयाँ सिक्काको तौल र आकार भने परिमार्जन गरिनेछ ।
हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा त्यसको मूल्य नै अंकित मूल्यभन्दा बढी पर्ने भएकाले उत्पादन लागत घटाउने उद्देश्यले तौल र आकार परिवर्तन गर्न लागिएको उनले जानकारी दिए । साथै, हाल प्रयोग भइरहेको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको छ, जसले उत्पादन लागत घटाउनुका साथै वातावरणीय दृष्टिले पनि लाभदायक हुने राष्ट्र बैंकको विश्वास छ ।
प्रवक्ता पौडेलका अनुसार एक रुपैयाँको सिक्कामा रहेका ६४ वटा थोप्लाले ६४ योगिनीको प्रतीक जनाउँछन् । सिक्कामा प्रयोग हुने चित्र र प्रतीकहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्व रहने भएकाले यसको डिजाइन विशेष अर्थ बोकेको हुने उनले बताए ।
सरकारले विगतमा पनि समयानुकूल सिक्काको डिजाइन तथा संरचनामा परिमार्जन गर्दै आएको छ । नयाँ सिक्काको अन्तिम स्वरूप भने मन्त्रिपरिषद्ले स्वीकृत गरेको डिजाइनअनुसार कार्यान्वयनमा आउनेछ ।