काठमाडौँ । लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट भइरहेको वित्तीय शोषण, चर्को ब्याज र अन्यायपूर्ण ऋण असुलीविरुद्ध किसान तथा मजदुरहरूले आगामी साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ गर्ने भएका छन् ।
‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’को आह्वानमा साउन १० गते दिउँसो १२ बजे बल्खुदेखि सिंहदरबारसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
आन्दोलनका आयोजकका अनुसार लघुवित्त र बैंकहरूले ऋणीहरूमाथि चर्को तथा चक्रवृद्धि ब्याज असुल्नुका साथै हर्जना, विभिन्न सेवा शुल्क, धितो लिलामी तथा कालोसूचीमा राख्ने कार्य गर्दै आएको भन्दै त्यसको विरोधमा राजधानी मार्च आयोजना गरिएको हो ।
आन्दोलनले लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित नागरिकहरूको वास्तविक अवस्थाबारे राज्यले आधिकारिक अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेको छ ।
आन्दोलनका प्रमुख मागमा चर्को ब्याजका कारण तिर्नै नसक्ने अवस्थामा पुगेका ऋणीहरूको अन्यायपूर्ण ऋण मिनाहा गर्नुपर्ने, शोषण र अन्यायबारे निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने, कालोसूचीमा राखिएका ऋणीहरूको नाम हटाउनुपर्ने तथा धितो लिलामी प्रक्रिया रोक्नुपर्ने रहेका छन् ।
यस्तै, जनमुखी मौद्रिक नीति लागू गर्दै आर्थिक संकटमा परेका किसान, मजदुर, महिला, उद्यमी तथा व्यवसायीका लागि ब्याजदर घटाउने, ब्याज समायोजन गर्ने र पुनः व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने मागसमेत आन्दोलनले गरेको छ ।
