सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका अधिकांश सरकारी स्वास्थ्य संस्थामा गर्भवती महिला तथा दीर्घरोगीका लागि आवश्यक औषधिको अभाव भएपछि सेवाग्राही प्रभावित भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) सप्तरीले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनमा यस्तो अवस्था देखिएको हो ।
गाउँपालिकामा वडा नं. ६ र ७ मा आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ८ मा प्राथमिक स्वास्थ्य केन्द्र तथा वडा नं. १ देखि ५ सम्म स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् । तीमध्ये अधिकांश स्वास्थ्य संस्थामा आइरन, क्याल्सियम, एलर्जी तथा उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने एमलोड–५ औषधि सकिएको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेकका अनुसार वडा नं. १ स्थित तिलाठी स्वास्थ्य चौकीमा साउनयता क्याल्सियम ट्याब्लेट अभाव रहेको छ । वडा नं. २ स्थित लौनिया स्वास्थ्य चौकीमा असार १५ गतेदेखि एलर्जीसम्बन्धी औषधि सकिएको छ भने वडा नं. ३ स्थित सकरपुरा स्वास्थ्य चौकीमा जेठदेखि क्याल्सियम उपलब्ध छैन ।
यस्तै, वडा नं. ४ स्थित कोइलाडी स्वास्थ्य चौकीमा साउनदेखि एमलोड–५, वडा नं. ५ स्थित बरसाइन स्वास्थ्य चौकीमा असार २५ गतेदेखि क्याल्सियम, वडा नं. ६ स्थित मधेपुरा आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक औषधि, वडा नं. ७ स्थित मंसापुर आधारभूत स्वास्थ्य केन्द्रमा असार २० गतेदेखि आइरन चक्की तथा साउनदेखि एमलोड–५ अभाव रहेको जनाइएको छ । वडा नं. ८ स्थित तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि जेठ २९ गतेदेखि एलर्जीसम्बन्धी औषधि उपलब्ध छैन ।
इन्सेकका अनुसार औषधि अभावका कारण गाउँपालिकाभर कम्तीमा २६० जना गर्भवती महिला आइरन र क्याल्सियमजस्ता अत्यावश्यक औषधिबाट वञ्चित भएका छन् । त्यस्तै ३४ जना उच्च रक्तचापका बिरामी एमलोड–५ औषधि नपाउँदा प्रभावित भएका छन् भने प्रत्येक महिना करिब ८५ जना एलर्जीका बिरामीले औषधि अभाव झेलिरहेका छन् ।
स्वास्थ्यकर्मीहरूले गर्भावस्थामा आइरन र क्याल्सियमको नियमित सेवन अत्यावश्यक हुने भएकाले यस्तो अभाव लामो समय कायम रहँदा आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताएका छन् ।
यता गाउँपालिका अध्यक्ष अरूणकुमार मण्डलले भने स्वास्थ्य संस्थामा औषधिको व्यापक अभाव नरहेको दाबी गरेका छन्। केही दिनअघि गरिएको अनुगमनमा क्याल्सियमबाहेक अन्य औषधिको अभाव नदेखिएको उनको भनाइ छ । उनका अनुसार नयाँ आर्थिक वर्षका लागि करिब ४३ लाख रुपैयाँ बराबरको औषधि खरिद प्रक्रिया इ–बिडिङमार्फत अघि बढाइएको छ। टेन्डर प्रक्रियाका कारण औषधि आपूर्तिमा केही ढिलाइ हुन सक्ने उनले बताए ।
यसैबीच, गाउँपालिका–८ स्थित तोपा जनस्वास्थ्य प्रयोगशालामा आवश्यक केमिकल अभावका कारण विगत चार महिनादेखि अधिकांश परीक्षण सेवा बन्द रहेको इन्सेकले जनाएको छ । केमिकल सकिएपछि हाल युरिन, दिसा र रक्तसमूह परीक्षण मात्र सञ्चालनमा रहेको तथा रगत र बायोकेमिस्ट्रीलगायतका अन्य परीक्षण सेवा बन्द हुँदा बिरामी निजी प्रयोगशालामा महँगो शुल्क तिरेर परीक्षण गराउन बाध्य भएका छन् ।
यद्यपि गाउँपालिका अध्यक्ष मण्डलले हाल आवश्यक केमिकल उपलब्ध भइसकेको र प्रयोगशालामा सबै प्रकारका परीक्षण सेवा सञ्चालनमा रहेको दाबी गरेका छन् ।