काठमाडौं । राजधानी भित्रिने र बाहिरिने यातायातलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको नेपालको पहिलो अत्याधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज एक कार्यक्रमबीच सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको समेत उपस्थिति रहेको थियो । सुरुङमार्ग सञ्चालनसँगै नागढुंगा क्षेत्रको लामो समयदेखिको सवारी चाप घट्ने र काठमाडौं प्रवेश तथा बाहिरिने यात्रामा सहजता आउने अपेक्षा गरिएको छ ।
नेपालकै पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको यो आयोजनाको शिलान्यास २०७६ कात्तिक ४ गते गरिएको थियो । लामो तयारी, निर्माण तथा परीक्षण चरण पूरा गरेपछि आजदेखि यसको औपचारिक सञ्चालन सुरु भएको हो ।
हाल भने सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन हुने छैन। सुरुङ सञ्चालन तथा मर्मतसम्भारमा खटिएका कर्मचारीलाई प्रणालीसँग अभ्यस्त हुन समय लाग्ने तथा टोल शुल्क संकलनलगायतका केही काम बाँकी रहेकाले प्रारम्भिक चरणमा अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र प्रवेश दिइनेछ ।
सुरुङमार्ग सञ्चालनका लागि विभिन्न सवारी साधनको शुल्कसमेत निर्धारण गरिएको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस तथा मिनी ट्रिपर वा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।
मल्टी एक्सल ट्रक, ठूला सवारी साधन तथा भारी उपकरण बोकेका सवारीका लागि भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मत एकाइकी जिज्ञासा अधिकारीका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही प्रकारका सवारी साधनलाई सुरुङ प्रयोगमा पूर्ण रोक लगाइएको छ। उनका अनुसार दुई पाङ्ग्रे सवारी, तरल तथा ग्यास इन्धन बोकेका सवारी, पशुपंक्षी ढुवानी गर्ने सवारी तथा बम–बारुदजस्ता विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
करिब २.६८ किलोमिटर लामो यो सुरुङमार्गले नागढुंगा क्षेत्रको सडक दूरी छोट्याउनुका साथै यात्राको समय र इन्धन खपत घटाउने अपेक्षा गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको प्रवेशद्वार मानिने नागढुंगा क्षेत्रमा हुने सवारी जाम व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)