नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमण घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजका आधारमा पहिचान गरी कानुनी कारबाही गर्न अस्पताल प्रशासनले माग गरेको छ ।
अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा घटनादिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जानकारी दिँदै फुटेजका आधारमा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न आग्रह गरेको हो ।
शनिबार वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरेका थिए । उक्त आक्रमणबाट डा. राम गम्भीर घाइते भएका छन् ।
अस्पताल प्रशासनका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीले अथक प्रयास गरे पनि उपचारका क्रममा राजकुमार पटेलको ज्यान जोगाउन सम्भव भएको थिएन ।
विज्ञप्तिमा मृतकका परिवार र अस्पताल प्रशासनबीच संवाद तथा छलफल भइरहेकै बेला केही अराजक व्यक्तिहरूले अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेको उल्लेख गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न अस्पतालले माग गरेको छ ।
अस्पतालका अनुसार आकस्मिक विभागमा कार्यरत डा. प्रमोद रामलाई मरनासन्न हुने गरी कुटपिट गरिएको थियो। हाल उनको उपचार भइरहेको छ ।
घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा त्रसित बनेकाले अस्पतालका सम्पूर्ण विभागको सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।
यसैबीच, चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सोमबार वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका छन् । उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही, चिकित्सकको सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्य संस्थामा हुने हिंसा रोक्न सरकारसँग माग गरेका छन् ।