चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई कुनै पनि अवस्थामा उपचार सेवा अवरुद्ध नगर्न आग्रह गरेको छ ।
स्वास्थ्यकर्मीमाथि हुने कुटपिट र दुर्व्यवहारको विरोधमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको दिन मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको उपचार पाउने मौलिक अधिकारमा असर नपर्ने गरी सेवा सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील क्षेत्र भएकाले यसको निरन्तरता आवश्यक रहेको उल्लेख गरिएको छ ।
स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको भन्दै मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ । नागरिकको स्वास्थ्य उपचारमा कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संयमित भएर सेवा सञ्चालन गर्न अपिल गरेको छ ।
नारायणी अस्पताल घटनापछि देशभर आन्दोलन
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका कारण देशको स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ ।
शनिबार मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त तथा समूहले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए । सो क्रममा केही चिकित्सकसमेत आक्रमणमा परेका थिए ।
आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका एक चिकित्सकलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । घटनापछि असुरक्षित कार्य वातावरण र स्थानीय प्रशासनसँगको वार्ताका क्रममा भएको दुर्व्यवहारको विरोध गर्दै नारायणी अस्पतालका करिब ८० जना चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
कार्यस्थल सुरक्षाको माग गर्दै वीरगञ्जबाट सुरु भएको आन्दोलनका कारण नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
