प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सुनसरीलगायत देशका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड तथा आगजनीका घटना बढ्दै गएपछि प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीको सम्बोधनको तयारी भइरहेको छ। यद्यपि सम्बोधन गर्ने समय भने अझै तय भइनसकेको उनले जानकारी दिए ।
पछिल्ला केही दिनयता सुनसरीको घटनालाई लिएर देशका विभिन्न जिल्लामा प्रदर्शन, विरोधसभा तथा तनावका घटना भइरहेका छन्। केही स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेशसमेत जारी गरेको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
यसअघि प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर देशको पछिल्लो सुरक्षा अवस्था, शान्ति–सुरक्षा तथा समसामयिक परिस्थितिबारे छलफल गरिएको थियो ।
प्रधानमन्त्रीको सम्बोधनमार्फत पछिल्लो घटनाक्रम, सरकारको धारणा तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरिने अपेक्षा गरिएको छ ।