वीरगञ्ज - वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघर चोकमा बिहीबार राति पर्सा प्रहरीले करिब १ करोड ८६ लाख रुपैयाँ बराबरको अवैध औषधि लोड गरिएका दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले राति १० बजे स.उ.प्र. ०१-००१ ख २६९९ र स.उ.प्र. ०१-००१ ख २६६१ नम्बरका ट्रकहरूलाई रोकी जाँच गर्दा बिलभन्दा बढी खुद्रा औषधिहरू भेटिएका थिए।
प्रहरीले उक्त औषधि लोड भएका ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कारबाहीका लागि पथलैया, बारास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ। प्रारम्भिक अनुसन्धानमा बिलमा उल्लेख गरिएको भन्दा दोब्बर बढी औषधि लोड गरी बँकेतर्फ लैजाँदै गरिएको पाइएपछि उक्त सामग्रीलाई अबैध ठहर गरी नियन्त्रणमा लिइएको हो।
पर्सा प्रहरीले यस किसिमका गैरकानूनी क्रियाकलाप रोक्न निरन्तर प्रयास जारी रहेको र यस्ता कारबाहीहरू आगामी दिनमा पनि सशक्त रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।