काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायत विभिन्न क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र त्यसपछि उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई संयम अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको द्वन्द्वका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्रसहित तराईका विभिन्न जिल्लामा फैलिएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै यही विविधता नै नेपालको गौरव र पहिचान भएकाले यसमा कुनै पनि प्रकारको खलल पुग्न नहुने बताएका छन् ।
नेपाली समाज परम्परादेखि नै आपसी मेलमिलाप, सहिष्णुता र सद्भावका साथ बाँच्दै आएको उल्लेख गर्दै उनले देशको मौलिक मूल्य र मान्यताविपरीत यस्ता अवाञ्छित घटना हुनु चिन्ताजनक भएको बताएका छन् ।
‘यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भूभागमा रहे–बसेका जो कोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो,’ सन्देशमा उल्लेख गरिएको छ ।