सुनसरीको कप्तानगञ्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार सर्वदलीय बैठक सुरु भएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको आह्वानमा बसेको बैठकमा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्त, पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानु, पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसिया, वीरगंज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
बैठकमा पछिल्ला घटनाक्रमका कारण पर्सामा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, शान्ति–सुव्यवस्था कायम राख्ने उपाय, सामाजिक सद्भाव सुदृढ बनाउने रणनीति तथा सम्भावित अप्रिय घटना रोकथामका विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पछिल्लो समय सुनसरीको कप्तानगञ्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै गएको छ । सिरहामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने धनुषाको जनकपुरधाममा तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
यसैबीच, पर्साको वीरगंजमा बिहीबार साँझ ५ बजेदेखि लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहान ६ बजे हटाइएको भए पनि जिल्लाभर सुरक्षा सतर्कता भने कायमै राखिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सबै पक्षलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न तथा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।