काठमाडौं । तराई–मधेश क्षेत्रमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित उच्च प्रहरी अधिकारीको टोली परिचालन गरेको छ ।
सुनसरीको कप्तानगन्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन, प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको मूल्याङ्कन गर्न, नीति निर्देशन दिन र सुरक्षा योजनाको कार्यान्वयन प्रभावकारी बनाउन टोली खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तराई–मधेश क्षेत्रमा खटिएका टोलीलाई सूचना सङ्कलन तथा विश्लेषण गर्ने, आवश्यकताअनुसार फिल्डमा परिचालन हुने, सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
टोलीलाई स्थानीय समस्या र गुनासो सुन्न, परिस्थिति नियन्त्रण बाहिर जान नदिन तथा समयमै अवस्था सामान्य बनाउन आवश्यक पहल गर्न निर्देशन दिइएको छ । खटिएका अधिकारीहरूले घटनाक्रमबारे आवश्यकता अनुसार प्रहरी महानिरीक्षकलाई जानकारी गराउनेछन् ।
प्रहरी प्रधान कार्यालयले एआईजीहरू सिद्धिविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरीको जिम्मेवारी दिएको छ ।
त्यस्तै, डीआईजी दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ ।
यसैगरी, नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई पनि तराई–मधेशका विभिन्न जिल्लामा परिचालन गरिएको छ। जसअनुसार गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमन्द्रसिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको छ ।
सुनसरीको कप्तानगन्ज बजारमा साउन ९ गते दुई समूहबीच भएको विवाद झडपमा परिणत भएपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो ।
उक्त घटनापछि सुनसरीसँगै मधेशका आसपासका जिल्लामा समेत तनाव फैलिएको थियो । विभिन्न स्थानमा सुरक्षाकर्मी र स्थानीयबीच झडपका घटनासमेत भएका छन् । सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएको र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ ।