जनकपुरधाम - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य रवि साहलाई जिल्ला प्रहरी कार्यालय, धनुषाको परिसरबाटै पक्राउ गरिएको छ। एक छलफल कार्यक्रममा सहभागी रहेका साहलाई दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको जनाइएको छ।
रवि साहलाई हिरासतमा लिइएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। घटना शिवपुरस्थित जनता माध्यमिक विद्यालयमा भएको भनिएको अनियमिततासँग सम्बन्धित छ। स्थानीय अभिभावकहरूले विद्यालयका प्रधानाध्यापकसँग पारदर्शिता नदेखाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
अभिभावकको निवेदनका आधारमा शुक्रबार भएको छलफलमा विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षसमेत सहभागी थिए। छलफलकै क्रममा प्रहरीले साहलाई अचानक हिरासतमा लिएपछि कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन्।
कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले गल्ती गर्नेलाई प्रहरीले संरक्षण दिने र अनियमितता खोज्नेलाई पक्राउ गर्ने कार्यप्रति दुःख व्यक्त गरे।