गुरु पूर्णिमाको अवसरमा भारतको सीमावर्ती शहर रक्सौलमा आयोजित तीनदिने धर्म संसद् धार्मिक तथा भक्तिमय वातावरणबीच सम्पन्न भएको छ ।
कार्यक्रममा भारत र नेपालका विभिन्न सन्त–महात्मा, अखाडाका प्रतिनिधि तथा श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको थियो । धर्म संसद्मा सनातन धर्मको संरक्षण, गौसंरक्षण, धार्मिक एकता तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको आयोजकले जनाएको छ ।
धर्म संसद्का संयोजक जगतगुरु वामाचार्य सेवक सञ्जयनाथ महाराजले धर्म संसद्को उद्देश्य समाजमा सनातन संस्कृति, आध्यात्मिक मूल्य तथा राष्ट्रसेवाप्रतिको चेतना अभिवृद्धि गर्नु रहेको बताउनुभयो । उहाँले भारत र नेपालका सन्तहरूको सहभागिताले धार्मिक एकता, सामाजिक सद्भाव र मानव कल्याणको सन्देश प्रवाह गरेको उल्लेख गर्दै धर्म, संस्कृति र नैतिक मूल्यको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारीले धर्म संसद् धार्मिक कार्यक्रम मात्र नभई सनातन संस्कृति, सामाजिक समरसता र भारतीय परम्पराको संरक्षणका लागि प्रभावकारी मञ्च बनेको बताउनुभयो। उहाँले गौसंरक्षण, सांस्कृतिक चेतना तथा राष्ट्रहितका विषयमा शान्तिपूर्ण र संवैधानिक संवादलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
धर्म संसद्बाट भारतलाई हिन्दू राष्ट्र घोषणा गर्न, गौमातालाई राष्ट्रमाताको संवैधानिक मान्यता दिन, सनातन संस्कृति तथा भारतीय परम्पराको संरक्षण र प्रवर्द्धन गर्न तथा धार्मिक चेतना अभिवृद्धि गर्ने प्रस्ताव पारित गरिएको छ । त्यस्तै, जम्मु–कश्मीरबाट धारा ३७० हटाइएको तथा अयोध्यामा श्रीराम मन्दिर निर्माण सम्पन्न गराएकोमा भारत सरकारप्रति धन्यवाद प्रस्ताव पनि पारित गरिएको छ । साथै, बिहार सरकारसँग गुरुनाथ अखाडालाई आवश्यक सरकारी सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ ।
कार्यक्रमका क्रममा अखाडाको परम्पराअनुसार विभिन्न सन्तहरूलाई नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ । नेपालका रामसुरत नाथलाई मण्डलेश्वर, अल्टर बाबालाई भारतको सभापति, बुद्धनाथलाई महामन्त्री, नेपालका कलैया निवासी नागा बाबालाई सेनापति प्रमुख तथा गुरुनाथ भोलानाथलाई अखाडाको महन्त नियुक्त गरिएको आयोजकले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन भएको धर्म संसद्मा सहभागी सन्त–महात्माहरूले सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव, आपसी भाइचारा तथा राष्ट्रहितका पक्षमा संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।