जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुरसम्बन्धी घटनामा आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार एक ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै अनुसन्धान सम्पन्न नहुँदासम्म अपुष्ट, भ्रामक वा एकपक्षीय सामग्री सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । प्रहरीका अनुसार साउन ९ गते वीरगंज महानगरपालिका–१३ राधेमाई टोलकी एक बालिकामाथि बालबालिकाविरुद्धको कसुर भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।
उक्त जाहेरी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी घटनामा संलग्न रहेको आरोपमा निखिलसिंह राजपुतलाई नियन्त्रणमा लिइएको थियो । उनीमाथि प्रचलित कानुनबमोजिम बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान स्थापित सिद्धान्त र प्राप्त प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र तथा गोपनीय रूपमा भइरहेको जनाएको छ । अनुसन्धान सम्पन्न नहुँदै अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित तथा प्रसारित समाचारले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्न सक्ने प्रहरीको भनाइ छ ।
यस्ता गतिविधिले सम्बन्धित पक्षको अधिकारमा असर पार्नुका साथै सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने भन्दै प्रवक्ता मल्लले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
उनले भने, “प्रहरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध छ। अनुसन्धान सम्पन्न भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा जानकारी गराइनेछ ।”