जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार साँझ करिब ६ः३० बजे बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा सवारी जाँचका क्रममा प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी खानतलासी गरिएको थियो ।
जाँचका क्रममा सिमेन्टका बोराभित्र लुकाइछिपाइ राखिएको २०७ किलोग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गाँजासहित पिकअप चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।