आन्तरिक राजस्व कार्यालय, वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा ९ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त आर्थिक वर्षका लागि ११ अर्ब ६५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्यको करिब ८० प्रतिशत मात्र राजस्व उठाउन सफल भएको हो ।
कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत पप्पुकुमार गुप्ताका अनुसार लक्ष्यभन्दा २ अर्ब ३३ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ९ अर्ब ४५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा १३ करोड रुपैयाँले राजस्व सङ्कलन घटेको छ ।
कार्यालयका अनुसार विभिन्न शीर्षकमा राजस्व सङ्कलनको अवस्था मिश्रित रहेको छ । आयकरतर्फ ४ अर्ब ३४ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ५१ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ, जुन लक्ष्यको करिब ५८ प्रतिशत हो ।
यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा २ अर्ब २१ करोड रुपैयाँ अर्थात् करिब ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
अन्तःशुल्कतर्फ भने कार्यालय लक्ष्य नजिक पुगेको छ। ४ अर्ब ८० करोड रुपैयाँ लक्ष्य रहेकामा ४ अर्ब ५९ करोड रुपैयाँ अर्थात् करिब ९६ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
करदाता दर्ता विस्तारमा भने कार्यालयले उल्लेखनीय प्रगति गरेको छ । गत आर्थिक वर्षमा २ हजार ५५३ वटा नयाँ व्यापारिक स्थायी लेखा नम्बर (प्यान) तथा १५ हजार ५११ वटा व्यक्तिगत प्यान वितरण गरिएको छ। यसबाट करदाताको दायरा विस्तार हुँदै गएको कार्यालयको भनाइ छ ।
हालसम्म आन्तरिक राजस्व कार्यालय, वीरगंजमा आयकरतर्फ ४४ हजार ९२१, मूल्य अभिवृद्धि करतर्फ १२ हजार १८३ तथा अन्तःशुल्कतर्फ १ हजार ९९२ करदाता दर्ता भएका छन् ।
कार्यालयले आर्थिक गतिविधिमा आएको सुस्तता, लक्ष्यअनुसार आयकर सङ्कलन हुन नसक्नु तथा समग्र आर्थिक चुनौतीका कारण अपेक्षित राजस्व सङ्कलन गर्न कठिन भएको जनाएको छ । यद्यपि आगामी आर्थिक वर्षमा कर प्रशासनलाई थप प्रभावकारी बनाउने, करदाताको दायरा विस्तार गर्ने तथा स्वेच्छिक कर सहभागिता बढाउने कार्यक्रमलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।