बारा जिल्लामा चालु वर्षको धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाराका कार्यालय प्रमुख राजनारायण प्रसाद साहका अनुसार साउन २० गतेसम्म जिल्लाभर धान रोपाइँ सम्पन्न भएको हो ।
यस वर्ष जिल्लामा करिब ४५ हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य निर्धारण गरिएको थियो । समयमै पर्याप्त वर्षा भएकाले लक्ष्यभन्दा बढी अर्थात् करिब ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको प्रमुख साहले जानकारी दिए ।
गत आर्थिक वर्षमा बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य रहे पनि लामो समयसम्म परेको सुख्खाका कारण ४५ हजार ९९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको थियो, जुन लक्ष्यको करिब ९८ प्रतिशत थियो ।
प्रमुख साहका अनुसार यस वर्ष मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि किसानहरूले समयमै खेत तयारी गरी धान रोप्न सफल भएका हुन् । अनुकूल मौसमका कारण जिल्लामा धान रोपाइँ लक्ष्यभन्दा बढी क्षेत्रफलमा सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।