महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्करमा आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर मृग जोगाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको र त्यसपछि आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार ट्याङ्कर चालक समिर गुरुङले ट्याङ्कर पल्टिएलगत्तै अचानक आगलागी भएको बताएका छन् ।
आगो नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट दमकल पुगेको थियो । दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीपछि केही समय प्रभावित भएको राजमार्गसमेत अहिले सञ्चालनमा आइसकेको छ ।
बाराको सिमरा उपमहानगरपालिका–११ निवासी करिब २५ वर्षीय चालक गुरुङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।
घटना चन्द्रपुर नगरपालिकादेखि करिब १३ किलोमिटर पश्चिमतर्फको जङ्गल क्षेत्रमा भएको प्रहरीले जनाएको छ ।