जिल्ला प्रशासन कार्यालय बाराले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा सम्भावित कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ । यसै क्रममा प्रशासनको टोलीले सदरमुकाम कलैयाका तीन वटा एलपी ग्यास पसलमा आकस्मिक छड्के अनुगमन गरेको छ ।
नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीले कलैयास्थित न्यु शिवशक्ति स्टोर्स, सोना ग्यास स्टोर्स र अस्मिता स्टोर्समा स्थलगत निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा न्यु शिवशक्ति स्टोर्सले खुद्रा रूपमा ग्यास पल्टी गरी बिक्री गरिरहेको भेटिएको नायब सुब्बा स्याङतानले जानकारी दिए । यस्तै, सोना ग्यास स्टोर्सले बिक्रीका लागि पसलमा राख्नुपर्ने ग्यास सिलिन्डर आफ्नै निजी घरमा भण्डारण गरेको पाइएपछि प्रशासनले ती सिलिन्डर पसलमै राखेर पारदर्शी रूपमा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
अनुगमन गरिएको अर्को पसल अस्मिता स्टोर्समा भने कुनै पनि अनियमितता वा कैफियत नदेखिएको प्रशासनले जनाएको छ । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा उपभोक्तालाई समस्या पार्ने गतिविधि बढेको गुनासो आएपछि प्रशासनले निगरानी बढाएको हो । यसअघि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ग्यासको सहज आपूर्ति र न्यायोचित वितरण सुनिश्चित गर्न ग्यास उत्पादक, वितरक तथा डिलरहरूलाई ९ बुँदे निर्देशन जारी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बाराले उपभोक्ता अधिकार संरक्षणका लागि यस्ता छड्के अनुगमनलाई निरन्तरता दिने जनाएको छ । नियमविपरीत कार्य गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याइने प्रशासनले चेतावनी दिएको छ ।
ग्याससम्बन्धी समस्या वा गुनासो भएमा सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५५०४५४०३ मा सम्पर्क गर्न वा ह्वाट्सएप नम्बर ९८५५००७७७८ मा सन्देश पठाउन प्रशासनले आग्रह गरेको छ ।