गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको प्रश्नोत्तर कार्यक्रममा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणबारे प्रश्न उठाउने सांसदलाई नै प्रतिप्रश्न गरेका छन् ।
बिहीबार राष्ट्रिय सभामा सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको लामो समय बितिसक्दा पनि दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारणबारे प्रश्न गरेका थिए ।
उनले सरकारको असक्षमता वा उदासीनताका कारण न्यायमा ढिलाइ भएको हो कि भन्दै प्रश्न गर्दै निर्मला पन्तले कहिलेसम्म न्याय पाउने भन्ने जवाफ माग गरेका थिए । जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले सरकारले शान्ति सुरक्षा कायम गर्न र अपराध अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको बताए । उनले निर्मला पन्त प्रकरण संवेदनशील विषय भएको भन्दै अनुसन्धान भइरहेको जानकारी दिए ।
तर उनले प्रश्नकर्ता सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गर्दै भने, “तपाईंहरू सत्तामा हुँदा यो विषय किन समाधान गर्नुभएन ?”
गृहमन्त्री गुरुङले विगतका सरकारहरूले काम नगरेको विषय अहिले नयाँ सरकारमाथि थोपर्ने प्रयास भएको टिप्पणी गरे । उनले निर्मला पन्तको विषयलाई बारम्बार सदनमा उठाउँदा पीडित परिवारको घाउ थप बल्झिने तर्क गरे । “यो अनुसन्धानको विषय हो, हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,” उनले भने ।
गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे प्रतिनिधिसभा र राष्ट्रिय सभामा पटक–पटक प्रश्न नउठाउन सांसदहरूलाई आग्रहसमेत गरे । उनले कुनै जानकारी आवश्यक भए आफूलाई व्यक्तिगत रूपमा भेटेर सोध्न आग्रह गरे । “सदनमा यसरी उठाउँदा आमाको पीडामाथि मल्हम लगाउनुको साटो उहाँको छोरीको सम्झनालाई बारम्बार कोट्याइराख्न मेरो नैतिकताले दिँदैन,” उनले भने ।
सांसद विश्वकर्माले उठाए विधायकी अधिकारको प्रश्न
गृहमन्त्रीको अभिव्यक्तिपछि सांसद विष्णुबहादुर विश्वकर्माले आफ्नो विधायकी अधिकार हनन भएको महसुस भएको बताए । उनले प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने कुरा संसदीय प्रणालीको आधारभूत प्रक्रिया भएको भन्दै प्रश्नको उत्तर दिनुपर्ने बताए ।
“मैले प्रश्न गर्न पाउनु पर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ । यो बाध्यताको कुरा हो,” उनले भने । रास्वपाको सरकार गठन भएको सवा चार महिना बितिसक्दा पनि निर्मला पन्त प्रकरणको अनुसन्धान निष्कर्षमा नपुग्नु दुःखद भएको भन्दै उनले पूरक प्रश्न गरे, “अबको कति महिना वा कति दिनभित्र निर्मलाले न्याय पाउँछिन् ?”
तर गृहमन्त्री गुरुङले उक्त प्रश्नको जवाफ दिन अस्वीकार गरे । सभाध्यक्ष नारायण दाहालले जवाफका लागि समय दिन खोज्दा पनि गृहमन्त्रीले “म यसको उत्तर दिन चाहँदिन” भन्दै दोहोर्याएका थिए ।