पर्साको जगरनाथपुर गाउँपालिकामा समावेशी शिक्षा तथा सबैका लागि शिक्षाको अवधारणालाई प्रभावकारी बनाउने उद्देश्यले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको सहकार्यमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत “समावेशी शिक्षा तथा सबैका लागि शिक्षा (Education for All)” सम्बन्धी कार्यक्रम जगरनाथपुर गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो ।
जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय बाहिर रहेका तथा जोखिममा रहेका बालबालिकाको पहिचान, विद्यालय भर्ना, नियमित उपस्थितिको सुनिश्चितता र उनीहरूको सिकाइ निरन्तरताका लागि पालिका, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा समावेशी शिक्षा, सबैका लागि शिक्षाको अवधारणा, यसको महत्व, सिद्धान्त तथा स्थानीय तहको भूमिकाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।
त्यसैगरी कार्यक्रममा ACCESS/FSTP परियोजनाको उद्देश्य, प्रमुख गतिविधि तथा अपेक्षित उपलब्धि बारे जानकारी दिँदै विद्यालयमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र विविधता, समावेशिता तथा सम्मान (DID) का सिद्धान्त कार्यान्वयनमा जोड दिइएको थियो ।
पालिका तथा विद्यालयका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सुरक्षित, बालमैत्री तथा समावेशी विद्यालय वातावरण निर्माण, समावेशी विद्यालय सुधार योजना (Inclusive SIP) तयार गर्ने तथा स्थानीय सरकार र विद्यालयको जिम्मेवारी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नं. ५ का अध्यक्ष विहारी महतो नुनिया, वडा नं. ४ का अध्यक्ष प्रभुनाथ प्रसाद नुनिया, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साह कानु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि, बालबालिका, Girls and Inclusive Education Network (GIEN) का प्रतिनिधि लगायतको सहभागिता थियो ।
त्यसैगरी सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साका अध्यक्ष इब्राहिम देवान, कार्यकारी निर्देशक रुपक पाण्डे, कार्यक्रम व्यवस्थापक विशाल कुमार गुप्ता, एकाउन्टेबिलिटी ल्याब नेपाल मधेश प्रदेशका प्रतिनिधि अम्रेश यादव तथा जिल्ला अधिकृत दिपेश पटेलको समेत उपस्थिति रहेको थियो ।
पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) बैठक समपन्न
कार्यक्रमपछि जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) को पहिलो बैठकसमेत सम्पन्न भएको थियो । बैठकमा GIEN को वार्षिक कार्ययोजना तथा आगामी गतिविधिबारे छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले गुणस्तरीय, समान र समावेशी शिक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक, बाल क्लब तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए । आयोजक संस्थाले कार्यक्रमले विद्यालय बाहिर रहेका तथा जोखिममा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र समावेशी शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
बैठकको सहजीकरण एकाउन्टेबिलिटी ल्याब नेपाल मधेश प्रदेशका प्रतिनिधि अम्रेश यादव र जिल्ला अधिकृत दिपेश पटेलले गरेका थिए ।