मुलुकको प्रमुख व्यापारिक नाका वीरगंजबाट आयात हुने प्रमुख वस्तुहरूको परिमाण र मूल्य गत आर्थिक वर्षमा उल्लेख्य रूपमा वृद्धि भएको छ ।
उद्योगका लागि आवश्यक कच्चा पदार्थ, कृषि उत्पादनमा प्रयोग हुने मलखाद, सवारी साधन, विद्युतीय उपकरणदेखि दैनिक उपभोग्य वस्तुसम्मका शीर्ष १० आयातित वस्तुको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो । वीरगंज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा शीर्ष १० आयातित वस्तुमध्ये कुनै पनि वस्तुको आयात मूल्य घटेको छैन । यसले औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री र उपभोग्य वस्तुको माग बढेको संकेत गरे पनि विदेशी वस्तुमाथिको निर्भरता अझै उच्च रहेको देखिएको छ ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपाल आयल निगमले वीरगंज नाकाबाट मात्रै २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ, जुन सबैभन्दा बढी आयात भएको वस्तु हो । पेट्रोलियम पदार्थपछि ८३ अर्ब ५६ करोड रुपैयाँ बराबरको फलाम तथा फलामजन्य सामग्री, ७० अर्ब ९३ करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टपुर्जा र ६८ अर्ब ३२ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको ।
त्यसैगरी, ४७ अर्ब ५८ करोड रुपैयाँ बराबरका विद्युतीय उपकरण तथा तिनका पार्टपुर्जा र ३९ अर्ब १७ करोड रुपैयाँ बराबरका यातायातका साधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् । सवारी साधनको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.२५ प्रतिशतले बढेको भन्सार कार्यालयले जनाएको छ । कृषि क्षेत्रका लागि आवश्यक रासायनिक मलको आयातमा सबैभन्दा उल्लेखनीय वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा ३१ अर्ब ५१ करोड रुपैयाँ बराबरको मल आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२.०९ प्रतिशतले बढी हो ।
यस्तै, ३१ अर्ब ४७ करोड रुपैयाँ बराबरको कपडा (४४.८२ प्रतिशत वृद्धि), २९ अर्ब ३० करोड रुपैयाँ बराबरका एलोपेथिक औषधिजन्य सामग्री तथा २६ अर्ब ४५ करोड रुपैयाँ बराबरका तेलहनजन्य वस्तु आयात भएका छन् । औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र मेसिनरीको आयात बढ्नु सकारात्मक संकेत भए पनि उपभोग्य वस्तु तथा इन्धनमा अत्यधिक निर्भरता कायम रहनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको अर्थशास्त्रीहरूको भनाइ छ ।
उनीहरूका अनुसार निर्यातको तुलनामा आयात तीव्र रूपमा बढिरहँदा मुलुकको व्यापार घाटा अझ विस्तार हुने र विदेशी मुद्रा सञ्चितिमाथि निरन्तर दबाब पर्ने जोखिम कायम रहनेछ ।