पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित बकुल पैनिमा बिहीबार बिहान एक वृद्धको शव फेला परेको छ ।
मृतक सखुवा प्रसौनी गाउँपालिका–४ कल्याणपुर टोल निवासी अन्दाजी ७० वर्षीय हिरा माझी मुसहर रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले बिहीबार बिहान करिब ७ बजे बकुल पैनिमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रङ्गपुरटाँडी र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा केही स्थानीयसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार अनुसन्धानका लागि २–३ जनालाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा लगिएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।