राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकार सञ्चालनको शैलीमा सुधार आवश्यक रहेको बताएका छन् ।
राज्य प्रणालीलाई जनतामैत्री, जिम्मेवार र संवेदनशील बनाउन सरकारको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले सरकार सञ्चालनमा कमजोरी देखिएको टिप्पणी गर्दै त्यसलाई समयमै सच्याउनुपर्ने बताए । उनले भने, “सरकार सञ्चालन गर्न कताकता ढंग पुगेको छैन जस्तो छ। यदि ढंग पुगेको छैन भने त्यो सिक्नुपर्छ। राज्य प्रणालीमा अझै ढंग पुर्याउनुपर्छ ।”
सुनसरीमा हालै भएको घटनाको प्रसंग उल्लेख गर्दै उनले तत्काल अवस्था नियन्त्रणमा आए पनि समस्याको मूल कारण समाधान हुन बाँकी रहेको बताए ।“सुनसरी घटनामा जसोतसो आगो निभाउन सक्यौं । तर, आगो निभेको हो, दाउरा निभेको छैन,” उनले भने । सांसद झाले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सलाई प्रोत्साहन गर्न विशेष नीति आवश्यक रहेको धारणा पनि राखे । करदातालाई चिठामार्फत प्रोत्साहन गरिएको उदाहरण दिँदै उनले विदेशमा रहेका नेपालीसँग नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)भन्दा ठूलो आर्थिक स्रोत रहेकाले उनीहरूलाई लगानी तथा अन्य क्षेत्रमा थप सहुलियत दिनुपर्ने बताए ।
उनले सामाजिक न्याय र लोकतन्त्रबीच सन्तुलन कायम हुन नसके राज्य कमजोर बन्ने चेतावनी दिँदै सरकार र राजनीतिक नेतृत्वले जनभावना बुझ्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले व्यंग्यात्मक शैलीमा भने, “हाम्रो सवारीको कालो सिसाको स्टिकर त हटायौं, सम्भवतः कालो चश्मा पनि हटाउनुपर्छ । त्यो पनि आवश्यक छ ।”
सांसद झाले निजी क्षेत्रलाई नियन्त्रण वा त्रासको वातावरणमा राख्नुको सट्टा प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै प्रहरीमार्फत व्यवसायीलाई तर्साउने प्रवृत्तिको अन्त्य गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।
उनले मधेश, निजी क्षेत्र तथा प्रवासी नेपालीलाई लक्षित विशेष नीति तथा कार्यक्रम ल्याउन पनि सरकारसँग आग्रह गरे ।