पर्साको बहुदरमाई नगरपालिका–२ स्थित बैरिया विर्ता स्वास्थ्य चौकीको पर्खाल भत्काएपछि विवाद उत्पन्न भएको छ ।
स्वास्थ्य चौकीलाई जग्गा उपलब्ध गराएका जग्गाधनीकै परिवारले पर्खाल भत्काएको आरोप लगेको छ । स्वास्थ्य चौकीको उत्तरतर्फ रहेको पर्खाल भत्काइएपछि स्वास्थ्य चौकीभित्र रहेका जिन्सी सामग्री तथा अन्य भौतिक सम्पत्तिको सुरक्षामा जोखिम बढेको स्वास्थ्य चौकी प्रमुख हरेराम साहले बताएका छन् । उनका अनुसार पर्खाल भत्किएपछि स्वास्थ्य चौकी खुला अवस्थामा पुगेको छ, जसका कारण सामग्री चोरी हुने तथा सुरक्षामा समस्या आउन सक्ने अवस्था सिर्जना भएको छ ।
स्थानीयवासीका अनुसार बाटोसम्बन्धी कुनै समस्या भए नगरप्रमुख, वडा अध्यक्ष वा सम्बन्धित पक्षको उपस्थितिमा छलफल गरी समाधान निकाल्न सकिन्थ्यो । तर सार्वजनिक स्वास्थ्य संस्थाको भौतिक संरचना नै क्षति पुर्याउनु उचित नभएको उनीहरूको भनाइ छ ।
स्थानीयले बैरिया विर्ता स्वास्थ्य चौकीजस्तो सार्वजनिक संस्थाको सुरक्षाका लागि तत्काल पहल गर्न र पर्खाल पुनः निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।